“फेरि आयो नव बर्ष उत्साह नै लिएर”

January 1, 2012

- आचार्य प्रभा

फेरि आयो नव बर्ष उत्साह नै लिएर
दुई हजार एघारलाई अन्तिम बिदा दिएर

जहाँ बसौं जे नै सोँचौं बदलिरन्छ समय
जसरी नि बाँच्नै पर्छ सुखी आसुँ पिएर

दुई हजार एघार साल जे जसरी बिते नी
बार्‍ह सालमा बाँच्नु पर्छ मनको घाउ सिएर

सबै मिली हाँसी खुशी बाँचौँ अब मिलेर
सुकी जाओस् मनको पिडा नास होस् खिएर

अतितको रिसराग तिलान्जली चढाई
जीवनलाई सार्थक बनाउँ सद्भावले जिएर


“बिदाई”

December 27, 2011

-राजु राई

ऊ  त्यहाँ  पर क्षितिज पारी

एउटा सानो झुप्रो

शायद दरिद्रताको बिस्मात र तिरिस्क्रित भै

झुकिरहेको थियो

अनि,

म गह भरी त्यान्द्रो आशाको आस बोकी

त्यो कहाली लाग्दो मरुभूमिमा भौतारी रहेको थिए

केवल सफलताको मात पाउन

एक्कासी

हावाको एक झोक्का आई दियो

अनि पात झै उडाइ कहाँ पुर्याइ दियो

मलाई जीवनको यात्री बनायो

शायद त्यो जमातमा तपाईं हुनु हुन्थ्यो

म थिए, तर अपरिचित

शायद बोल्न खोजे जस्तो

केही भन्न खोजे जस्तो

क्यान्भासमा रङिएको चित्र जस्तो

अनि एकदमै मौन भए जस्तो

म त यसै तिरिस्क्रित थिए, त्यसै एक्लो नै थिए

तर सोची दिनेले आफ्नो सोची दिए

भाई माने, साथी माने,

अनि मैले पनि सबैलाई आफ्नो माने

म तपाईंहरुको भए अनि तपाईंहरु मेरो

तर दुर्भाग्यबश

हावाको गतिसँगै समय र परिस्थिती आई पुग्यो

अनि साथी साथीलाई छुटाउन लाग्यो

भावनात्मक सम्बन्ध धुजा धुजा बनाइ दियो

अनि के भयो ?

मेरो हृदय चिरा पर्यो ।

शायद यसले जमिन फाटिएको आभाष दिईरहेको थियो

मेरा आँखाबाट आँसुका थोपाहरु बग्न थाल्यो

शायद

यसले सप्तकोशी र गण्डकीलाई सुकाइ रहेको थियो

यो मेरो दुर्गति हो

यो हाम्रो दुर्भाग्यको नियति हो ।

यही क्रममा बिदाइ छ मेरो यहाँहरुलाई

शुभकामना छ रुन्चे हसाइले बिछोडिने क्रममा

मिलनका आशा फेरी राखेछ

मेरा गुम्सिएका चाहले – जानी नजानी – जानी नजानी ।

सेतो गुराँस क्षेत्रिय बाल बिकास सेवा, सुनसरीको आयोजनामा ७ दिने सुपरिबेक्षक तालिम-२०५७ को अन्तिम बिदाईमा लेखिएको कबिता ।


“मुन्धुम् र भौतिकवादी दृष्टिकोण।”

October 15, 2011

- साम्पङ खम्बु किरात 

मुन्धुम् संसारको सृष्टि,मानव जगतको भलो र प्रगति गर्ने विषय वा सार संक्षेप नैं वास्तविक मुन्धुमको सारतत्व हो। मुन्धुम् शब्दको उत्पति मुन–हल्लीनु थुम+दुम–जोदिनु मुन्दुम–मुन्धुम् हुन्छ। अथवा हल्लीरहने शति्कशाली तत्व जोडिएर कुनै अर्थ लाग्ने वस्तु वा सिर्जना हुने शब्दको नाम नै मुन्धुम् हो। मुन्धुमको अर्थ खाम्बोङबा लुङबोङबा अथवा सावा येत्हाङहरुको प्राचीन भाषा,माङ्वाणी (माङ इङघङ) देव भाषा जो मुहिगुम् अङसी,देवअङसीहरुको वाणी वा मौखिक शास्त्रादीहरुलाइ मुन्धुम् मानिएको छ। मुन्धुमभित्र थकसाप मुन्धुम्(लिखित शास्त्र) पेसाप मुन्धुम्(टिप्पणी शास्त्र) थुङसाप मुन्धुम् (मौखिक शास्त्र―श्रुति परम्परा) सक्सक् मुन्धुम् (कागज शास्त्र) र साम्यो मुन्धुम् (धर्म शास्त्र) यी शास्त्रहरुलाई समग्रमा साम्जिक वा चाम्जिक मुन्धुम् मानिएको छ। श्रुति कथा,आख्यान,लोक साहित्य र गाथाहरुको समष्टीरुप नै मून्धुमको आधार हो।

थुङसाप मुन्धुम् (श्रृति शास्त्र) साकमुरा वादेम्मा मुन्धुम् अनुसार मुजिङना खेयङ्ना (इश्वररुपि स्त्रीरुप) मस्त जवानी भइ यौनतृष्णाले छट्पटिन्दा सुइसुइला खेल्दै रुखमाथि खुट्टा हल्लाएर हावा खाइ बस्दा (कालो बायु–इश्वर–माङ्को विर्य) हावाको माध्यमले मुजिङना खेयङ्नाको योनीमा प्रवेशगरि गर्भधारण भइ जन्मेका युकपुङ्गेन् सावाङगेम्बा नै प्रथम मानव पुत्र मानिन्छ।

१ अर्थात शास्त्रीय मुन्धुमी भाषाले भन्छ कि सुनले बनाउँदा पनि मान्छे बनेन्,चाँदिले बनाउँदा पनि मान्छे बनेन अर्को शब्दमा तत्वले जीवन बनेन्। बाजेबाट बाबु आयो,बाबुबाट छोरा आयो,छोराबाट नाति आयो अर्थात जीवन बन्नलाइ जीवन नैं चाहिन्छ। यसलाइ अग्रेजीमा law or theory of Biogenesis भनिन्छ। मुन्धुम् अनुसार जीवाङ्श भनेको सिमिक्ला खाप्पु,वहिचेल्लेक्ना,वादुम्–पक्वा वा आकाशे पानी जो ढुङ्गाको खोपिल्टो वा कुनै पानी जम्ने ठाँउमा जम्मा भई त्यो पानीमा आवश्यक जीवांशहरु जम्मा हुन गई तागेरानिङ्वाफु माङको आशीर्वादले मात्र मानिसको सृष्टि भयो। यसरी मानिस वा जीवको उत्पति हुने सिद्धान्तलाइ नै मुन्धुमले अघि सारेको छ। मुन्धुममा थुप्रै माङहरु उत्पन्न भई विभिन्न सिर्जनाहरु गरेको मुन्धुम् वर्णन गर्दछ। तर बुझनु पर्ने कुरा के हो भने समय क्रम अनुसार ब्रामण्ड र पृथ्वीमा भएका सर्म्पूण वस्तुहरु परिवर्तन हुँदै जाने निश्चित अवस्थालाई श्रुति परम्परामा माङ (इश्वर) को उपस्थिति मानिएको छ। डार्विनको विकासवादी सिद्धान्त अनुसार बाँदरले मानिसको रुप लिन पुगेको हो। त्यो वैज्ञानिक तथ्यलाइ स्वीर्कानै पर्छ। तर अब संसारका बाँदरहरु बाँदर नै रहि रहन्छन्। बाँदरबाट मान्छे बन्ने वातावरणको परिवर्तन क्रम गुज्री सकेको छ। यो वैज्ञानिक तथ्यलाइ स्वीकार गर्दछौ भने थो खाम्छी छिरीरो खाम्लन्दी साःमा (साःमेन्छा) लुङछी छिरीग लुङबोङ्बा साःमा,मेन्छाम तुम्बुमा याप्मी तुम्बुमा,मुजिङनामारो खेयङनामाआः,थाप्साङ लन्देआङ लदेन लन्देआङ,थो फक्ताङलुङ्मेत्थो पेन्बेन वामेत्थो,चुक्मु नेन्छीङ्ङाङ् हिङमु नेन्छीङ्ङाङ्,चुक्मु लोरेल्य हिङमु लोरेल्य,भन्ने शास्त्रीय मुन्धुमी काब्यलाई पनि स्वीर्कानै पर्ने हुन्छ। जब फक्ताङ्लुङ पेन्बेन्लुङमा माङजिरी माङ्लःदा (माङगन तेम्बे) तेनमा ढुङ्गा माटो र हावा पानी द्धारा जन्म भएकी मुजिङना खेयङना मस्त जवानी हुन्छिन् अनि मुन्धुमी भाषामा यसरी गर्भधारण हुन पुग्छिन्।

२ लक्लेलक लकले पेलीरक पान्लो थो सिन्युक् पिबारो मुदेन पिबारो थो सुरावेत तेम्बे काम्फोना तेम्बे थोसु इङबेल्लो खाङला इङबेन्न् योसु इङबारो सुरा इङबेन्न् लक्लेलक लकले पेली र पारे यो साङगफे कफे नाङवामा चङधो मुजिङनामाग खेयङनामाग कुजेक् …. सिसा केरेआङ् मेन्छीन् केःरेआङ साम्मिःत् मुक्तेआङ केजङ् मुक्तेल्ले यो साङगफे कफे नावामा चङधो लिङगफे कफे नावामा चङधो केरुङ तोसेल्ले कुहिम तोसेल्ले साम्मिःत्रक मुक्ते केजङरक मुक्ते साम्मिःत्ले मुतुःकेजङ्ले मुत्तुआङ मुजिङनामाग खेयङनामाग आबुरक लाःरुरो सारुङरक लाःरुरो।

३ मुन्धुममा यसरी सर्वप्रथम मानवको गर्भधारण हिमालमा भएको छ। यता रुसी आँखा अनुसंन्धानकर्ता एवं वैज्ञानिक इरस्ट मोल्डाशेभको इन्टरनेशनल एकेडेमी अफ साइन्स युन (१९९६) द्धारा प्रकाशित इन्टरनेशनल एक्सपेडिसन फर हूमानिटी ओरिएन्टल रिसर्च(International expedition for oriental research)पुस्तकमा मानव जातिको उत्पति हिमाली श्रृङखला (फक्ताङलुङ) र मानसरोवर छेउछाउ भएको उल्लेख गरिएको छ। त्यहाँ उत्पति भएका मानवहरु विकसित अवस्थामा पुगेर चारतिर लागेका थिए। मुन्धुममा उल्लेख गरिएको संसारको सृष्टिवारे चाख लाग्दो र वैज्ञानिक दृष्टिकोणसंग मेलखाने धेरै शास्त्रिय मुन्धुमी भाषाहरुको प्रयोग भएको पाइन्छ। युङ्पुङगेन सावाङगेम्बा सिकार गर्न फङदुरा (काँस) चङधो वेक्तुरा चङधो उकालो लाग्छन्। मुन्धुम् अनुसार उस बेलाको माङ्गन तेम्बे (माङहरुको घुमफिर गर्ने ठाउँ वा समथल मैदान,वर्तमान फक्ताङ्लुङ हिमाल वरिपरि) तिर उकालो लागेको ब्याख्या भएबाट के बुझन्छ भने अहिले उभिएका पहाड र हिमालहरु अग्लिने क्रम जारी थियो। अहिले जस्तो विशाल हिमाल पर्बत भएर अग्लि सकेको थिएन् र नदी किनारतिर काँशका गाँजहरु फुलेको थियो। भूगर्भशास्त्रीहरुको मत अनुसार हिमाल भूखण्डको निर्माण आजभन्दा करिब साढे १२ करोड बर्ष अगाडी उत्तरको लुरेसिया र दक्षिणको गोण्डवाना ल्याण्डको रुपमा बाँडिएका जमिनका केवल दुईओटा ठूला भूखण्डहरु साढे ६ करोड बर्ष अगाडी आएर वर्तमानका विभिन्न द्धीपहरुमा बाँडिनु अगाडी वर्तमान नेपालको भूभाग टेथिस सागरको गर्भभित्र लुकेको थियो। (मेहरी दत्ता १९८५: १५–१७)। वर्तमानको दक्षिण एसियाली उपमहाद्धीप सरिसृपहरुको युग अथवा मध्य जीवकल्प(Mesozoic)संम्म अफ्रिकी महादेशसंग जोडिएको थियो। पछि आएको भौगोलिक हलचलमा समुन्द्रको दक्षिणी पिध पेलिने तर उत्तरको तिब्बती ढालले सर्न नदिने हुँदा समुन्द्र सतह चुलिन्दै गएको थियो। यो परिवर्तनको लहरमा कतिपय जमिनका उच्च भू–भागहरु पानी भित्र डुब्न पुगे र कतिपय सागर भित्रका भू–भागहरु उच्च भूमि वा पहाडका रुपमा उठ्न पुगे। यहि हलचलकै क्रममा महाद्धिपीय विस्थापनका कारण अफ्रिकासंग जोडिएको भू–भाग समुन्द्रमा धस्न गयो र उत्तरतर्फ भएको टेथिस सागरको भू–भाग माथि उठ्न गई चुरे,महाभारत र कतिपय उच्च पहाडी भू–भागको निर्माण हुन पुग्यो। तिब्बतीय पठारतिर विशाल ढिक्के नुन खानी हुनुलाई त्यहि समुन्द्रको नुनपानीलाई कारण मानिएको छ। यी वैज्ञानिक तत्थ्य अनुसार आज देखिएका पहाड,हिमालहरु एकै पल्ट निर्माण भएका थिएनन्। समुन्द्री टेथिस अग्लो हुने क्रमसंगै त्यहाँ भएका एक कोषिय जीवहरु पनि पानीको सतहमा आएका थिए। डार्बिनको विकासवादी सिद्धान्त अनुसार अमिवाबाट जीवहरु र मानव संम्मको विकास भएको हो। यो विकास हुने क्रम पहाड र हिमालको अग्लाईसगै एकै साथ हुँदै गयो। मून्धुमले पनि यहि विकासवादी सिद्धान्तकै आधारमा ब्राम्हाण्ड र संसारको सृष्टि जीवहरुको उत्पति र फक्ताङलुङमा (कुम्भकर्ण हिमालमा) ढुङ्गा माटोद्धारा मुजिङ्ना खेयङनाको जन्म भएको थियो। जीवहरुको उत्पति र विकास हुने क्रम भई सकेर पनि अहिले देखिएका पहाड र हिमालहरु भने क्रमश अग्लिन्दै जाँदा अहिलेको अवस्थामा पुगेको हो। अफ्रिकामा पाइएको “लुसि” भनिने मानव भग्नावशेषलाइ वर्तमान मानवको पहिलो पुर्खा भनेर पश्चिमी अनुसन्धानकर्ताहरुको दाबी रहे पनि “बहुमत मानवशाश्त्रीहरु एसिया क्षेत्र नै मानव उत्पति स्थल हुनु पर्छ” भन्ने निर्क्योलमा एकमत छन्। हिन्दु धर्मशास्त्रले मानव उत्पति स्थल हिमालयतिर भएको सङ्केत गर्दछ।४ यहि सङ्केतलाई मुन्धुमले विस्तृत रुपमा वर्णन गरेको छ। इतिहास र संस्कृतिविद् भुवनलाल प्रधान अनुसार “एक करोड बर्ष भन्दा अगाडि नै हिमाली भेगको फेदीमा प्रागमानवको प्रादुर्भाब भईसकेको थियो। मुन्धुम् भित्रको यथार्थ नै मिथ हो। मिथकमा वर्णन भएका खाम्जिरी खाम्बोङ्साहरु यहि फक्ताङ्लुङ पेन्बेनलुङ वरिपरी उत्पति भएका तागेरा निङ्वाफु माङका संन्तानहरु हुन् जो वास्तविक (Indigenous) हुन। याक्थुङ लाजे लिम्बूवान नाममा फेरिनु अघि याक्थुङ लाजेमा सावायेत्हाङ आठ राजाका संन्तानहरुले राज्य गर्दै थिए। उनिहरुको एउटा विशेषता के थियो भने हरेक देव देवी र प्रतिष्ठित ब्याति्कहरुको नाम “य” वर्णबाटै राखिएको हुन्थ्यो। जस्तै याक्थुङबा,येहाङ,युक्पुङगेन,यकलब्यहाङ,येबा,यलम्बाहाङ,युमा,येमा आदी। सम्भवतःउनै सावायेत्हाङका संन्तान दर संन्तानहरु नै मुजिङना खेयङनाका सन्तानहरु हुन। तिनै सु:सुवेङ ला:लावेङ वा सु:सुवालिSलिम(ढुङ्गा माटोसंगै जन्मिएका मुलबासी) याक्थुङबाहरुलाई नैं आगन्तुक शासकहरुले “सुSसुवा लिSमलिम” भन्दा भन्दै लिम्बू भनिएको हुन सक्ने सम्भाब्यतालाई इतिहासकारहरुले स्वीकारेका छन्। तिनै सावायेत्हाङका संन्तानहरुले उक्त मुन्धुम् श्रुति परम्परामा आधारित शास्त्रिय ऐतिहासिक काब्यको थालनी गरेका थिए। येहाङ्को त्यो संसारको सृष्टि,मानव उत्पति कथा,तथा मानव विकास र धार्मिक एवं सांस्कृतिक श्रृति परम्परालाई एक पुस्ताबाट अर्को पुस्तामा सार्दै ल्याइ रहेका थिए,सर्दै आएको छ। मुन्धुम्ले वर्णन गरे झैं हिमालमा मानवको उत्पति र विकासबारे हिमालमा पाइएका शालीग्राम र नवपाषणकालीन ढुङ्गाका हतियारहरु ताप्लेजुङ,इलाम,झापा,सुनसरी,मोरङ,उदयपुर,दोलखा,मुस्ताङ,रामेछाप,सुर्खेत,काभ्रेपलाञ्चोक,ललीतपुर,तनहुँ,कास्की,पाल्पा,दाङदेउखुरी,मकवान र नवलपरासी आदि स्थानमा पाइएका छन्। यी हतियारहरुले के सङकेत गदर्छ भने यिनै हिमाल पहाडको आसपास मानवको उत्पति भई नवपाषणकालीन युगमा यी स्थानहरुमा मानिसहरुको ब्यापक वसोवास भइ सकेको थियो। तर गाउँघरमा आफ्ना हजारौं बर्ष अघिका पुर्खाका ढुङ्गे हात हतियारहरु नचिनेर बज्र ढुङ्गा (सेरिलुङ) लाई पूजा गर्ने साथै औषधीको रुपमा प्रयोग गर्ने चलन रहेको छ। भू–गर्भशास्त्रीहरुको मत अनुसार नेपालका अधिकांस उपत्यकाहरु तलाउका रुपमा थिए। आज भन्दा २ लाख बर्ष अगाडी धाद्रा लागी पानी निस्किएर गएको अनुमान गरिएको छ। तिनै समुन्द्रको टेथिस अग्लिएर उपत्यका बनि पानी निस्के पछि बनेको समतल मैदानहरुलाइ मुन्धुममा तेम्बे (समथल,मैदान) शब्दले पुकारिएको छ। मुन्धुममा वर्णन भएका केहि तेम्बेहरुको नाम यस प्रकार छन्। मुरिङला खारिङला तेम्बे,साङ्गरक नु,गरक तेम्बे,चेन्जेनलुङ तेम्बे,चिङलिङ हारा (हडा) तेम्बे,काप्लिङ तेम्बे,मिनुताखोङ तेम्बे,तेल्लेङ तेम्बे,मुना तेम्बे,नाखोङलुङ तेम्बे,पुङलिङ तेम्बे,फेसिङ तेम्बे, इवा हडा तेम्बे,साघोङलुङ तेम्बे खङफोना तेम्बे,माङ्गन् तेम्बे,सुरावेत तेम्बे,खोन्दोप्ला तेम्बे,साजारा तेम्बे,तुङसाबा तेम्बे,लिङघायक तेम्बे जस्ता कैयौं तेम्बेहरुको वर्णन भएका छन। यी वर्णन भएका मुन्धुमका तेम्बेहरुमा मानव उत्पति र सभ्यताको विकास भएको विश्वास गरिन्छ। यसरी मुन्धुम् र भौतिकवादी तत्थ्यमा तारतम्य मिल्नु संयोग मात्र नभई मुन्धुमले वर्णन गरेका भौतिकवादी शास्त्रहरुलाई केलाउँदै जाँन सके अलङ्कारीक मुन्धुमी भाषाको दृष्टिकोण पाठकहरु सामु स्पष्ट हुँदै जानेछ।

शन्दर्भ सूची :-

१.चन्द्र कुमार सेर्मा “पापोहाङ”–किराँत धर्म प्रश्नोउत्तर माला भाग – १

२.जसराज पन्धाक लिम्बू–लिम्बू जनजाति जीवन पछिको जीवन धारण तथा अन्त्यष्टि अनुष्ठानहरु।

३.लिङदेनफुङ सराही साम्बा हाङयम्बु भिम बहादुर लिबाङ र येजिरी येफःया हाङयम्बु बृषबहादुर वनेम–मुजोक्:क्लुङ खाजोक्:क्लुङ मुन्धुम्।

४.निलम शेखर अधिकारी– नेपाल जातिय आन्दोलन।


“उभौली पूजा”

October 12, 2011

म आफु पनि एउटा किरात भएको नाताले मेरो यस ब्लगमा किरात समुदायको एउटा मुख्य पूजा “उभौली” को केही तस्बिरहरु राख्ने जमर्को गरेको छु ।


“म चाहन्न”

September 29, 2011

-राजु राई

बितेका ति दिनहरु सम्झन म चाहन्न
देखेका सपनाहरु दोहोर्याउन म चाहन्न ।
चस चस घोचिरहन्छ तिम्रो सम्झनाले सधैं
तिमीलाई अब मुटुमा सजाउन चाहन्न ।

हरेक मिलनको अन्त्य बिछोडमा टुङिदो रहेछ भने
अब तिमीसँग मिलनको आशा राख्न चाहन्न ।
साचेको खुशी तिम्रो निम्ती फगत बनि दिन्छ भने
आज देखि यो खुशीसँग नाता गास्न चाहन्न ।


“म अनि BATCH # 56″

September 29, 2011

This slideshow requires JavaScript.


“म तीन छक्क”

September 29, 2011

“मित बाबा! तपाईं पनि नेपाल चाडै आउनु अनि मित ममी ल्याउनु”

नेपाल जानु अघि मेरो मित छोराले भनेको यो कुरा सुनेर म तीन छक्क नै परे । ३ बर्षको बालकले यस्तो पनि कुरा गर्छ भनेर मैले सोचेकै थिएन ।


“मेरा प्रतिबिम्बहरु”

August 24, 2011

This slideshow requires JavaScript.


“मन लाग्यो”

August 24, 2011
- राजु राई

हल्का हल्का त्यो ओठ्को मन्द मुस्कान
हेर्दा आँफैमा भुलाउन मन लाग्यो

मन भरिका सारा ब्यथा भुलाई
तिम्रो मनको बगिचामा डुल्न मन लाग्यो ।

शायद लड्छु होला कठिन यो यात्रामा
तिम्रो सहरामा लिई उठ्न मन लाग्यो

थाहा छ मलाई पिडा हुन्छ यो मायामा
तर किन फेरी तिम्रै यादमा भुल्न मन लाग्यो । ।


देश भोकाहरुको रोटी होइन

February 21, 2011

-बासु श्रेष्ठ-

(यो शीर्षक कवि हेमन्त श्रेष्ठव्दारा २०५३ सालमा लेखिएको कविताको शीर्षकबाट सापटी लिएको हुँ। मेरो यस ब्लगको लागि योभन्दा अरु कुनै शीर्षक जुरेन, भनौँ अरु कुनै पनि उचित लागेन। शीर्षक तथा कविताँश प्रयोग गर्न स्वीकृति दिनुहुने कविलाई धन्यवाद।)

राजतन्त्रको अवसानपछि सत्ताको लागि दलहरुविच देखिएको लुछाचुँडीले यहि कुरा जनाउँछ कि देश एक रोटी हो अनि दल र दलका नेता उपनेताहरु भोका हुन्। भोकाहरुको विच एक रोटीकोलागी ङयारङयार ङुरङुर अनन्त चलिरहेको छ। सबैलाई थाहा छ एकआपसमा मिलेको खण्डमा देशले तुरुन्त तिब्र गति लिनेछ। तर त्यो तिव्रता दिनकोलागी भने कुनै दलपनि तयार छैनन्। सबैले आआफ्नो डम्फु बजाइ रहेका छन्। आफुले गरेको र बोलेको मात्र असल या ठिक, अरुले गरेका, बोलेका सबै गलत भन्ने गलत निर्क्यौलले देश अनिर्णयको बन्दि भइरहेको छ। जनताहरुले आन्दोलनमा साथ दिएर आफ्नो धनजनको सुरक्षा, आय आर्जनको निश्चिन्तता अनि शान्ति, सुरक्षाको मनोकाँक्षा राखेका थिए। तर यो सपना र चाहनामै सिमित हुन पुगेको छ।

पुष्पकमलको राजीनामापछि धक्कमधक्का, घुर्काघुर्कि र किनबेचको फोहोरी खेल खेलियो। देशलाई मुक्ति दिन एकसाथ लडेका यि दलहरुमा आपसी समझदारी हुनुको साटो एउटा मेचकोलागी राष्ट्र् र जनतालाई बन्दि बनाए। देश र जनता हिजोको एउटा समस्याबाट मुक्त त भयो तर अर्काे थुप्रै समस्याका बीच घेरिए। समस्यामात्र होइन नैराश्य र अस्थिरता अनि असुरक्षापनि बढ्यो। नेपाल देश हाँसोको विषय बन्यो। नेपालीहरु हास्यका पात्र बने। अनि सभासद्मा हारेका व्यक्ति माधव नेपाल प्रधानमन्त्री भए। तर जनताले यसलाईपनि सहजताकासाथ लिए। किनभने देशले सँविधान पाउँछ भने, देशले शान्ति र विकासको मार्ग अवलम्बन गर्ने मौका पाउँछ भने यो हाँसोको पात्र बन्नु कुनै ठुलो विषय होइन। तर आशा गरेका यि कुनैपनि पुरा भएनन्। पुरा त के बरु सँविधान सभाकोलागी म्याद थपियो। शान्ति र विकास होइन यसको ठिक विपरितका क्रियाकलाप गरियो। देशको स्वार्थलाई छोडेर आफ्नो स्वार्थ नदेखे समर्थन नगर्ने प्रवृत्ति भएका दलहरुले आखिर माधव नेपाललाईपनि राजिनामा गर्न बाध्य त बनाए। तर उनै व्यक्ति राजिनामा दिएपनि सात महिनाभन्दा बढि प्रधानमन्त्री नै भैरहे। अर्काे हाँसो र लाज मर्नुको विषय।

राजिनामा दिएपछि सात महिना भन्दा बढि सोहि पदमा रहिरहनुको कारण हो फेरि उहि एकआपसमा पदकोलागी खिचलो। न त दलहरुले आपसी सद्भाव नै देखाए। न त विपक्षलाई सम्मान या अवसर दिन कसैले जाने। सत्र पटकसम्म प्रधानमन्त्री पदकोलागी चुनाव गरियो। बिना कुनै लाज या विना कुनै हिच्किचाहटका साथ देशलाई बन्दि बनाइ राख्नुमै रमाए। एउटा प्रधानमन्त्री पदकोलागी दलहरु र दलहरुभित्रको उपदलहरुको फोहोरी खेलले प्रष्ट गरेको छ त्यो मेच एउटा रोटि हो भने यि नेता उपनेता भनाउँदाहरु भोका हुन्।

अठारौँ पटकको निर्वाचनमा बल्ल प्रधानमन्त्रीको टुँगो लागेको सुन्दा देशले केहि सुखको सास फेरेको थियो। तर त्यो दुइजनाकोमात्र विचार र सल्लाहबाट भएको रहेछ। सातबुँदे सम्झौताले स्पष्ट के देखाउँछ भने सत्ताकोलागी एकापसमा गुप्ती सम्झौता पनि गर्न पछि नपर्ने रहेछन् यि नेताहरु। सत्ताकोलागी लुछाचुँडिको अर्काे रुप हो यो। यदि साँच्चिकै सद्भाव र सहयोगको भावनाले एकर्कालाई समर्थन गरिएको भए त अहिलेसम्म मन्त्रीमण्डलले पूर्णता पाइसक्ने थियो। तर त्यो सम्झौता काँचो र नरम सतहमा बसेर सत्ता मोहको परिवेशमा बाँधिएर गरिएकोले त्यसको नकारात्मक परिणाम त आउनु नै थियो जुन हामी अहिले देख्दैछौ। आखिर निर्क्यौल के हो भने सत्ताकोलागी जेपनि गर्न चाहेर या गरेर देश भोकाहरुको रोटी भएको छ।

त्यसैगरी आफ्नै पार्टीका सदस्यहरुले मन्त्री पद नपाए घुर्क्याउने तथा धम्क्याउने प्रचलन बढेको छ। के हो मन्त्री पद? पार्टीमा कसैको चाकरी र साथ दिएको भरमा मन्त्री हुने या कुनै दक्षता, कुशलताको आधारमा मन्त्री बन्ने? देशलाई अग्रगामी दिशातर्फ उन्मुख गराउन विकासका योजनाहरु ल्याउन सक्ने व्यक्ति मन्त्री बन्ने कि पार्टीभित्र इतर या वितर पक्षमा लागेको आधारमा मन्त्री बन्ने? खोइ नेताहरुमा हुनुपर्ने निश्वार्थता? खोइ नेताहरुमा हुनुपर्ने सौहार्द्रता? खोइ नेतामा हुनुपर्ने त्याग र बलिदानको उदाहरण? नेतामा देखिएको चरित्रले हामी जनताहरुलाई लाज मान्दा मान्दा अब घृणा लाग्न थालिसकेको छ। झलनाथले झापड खानु परेकोे यिनै आक्रोस तथा नैराश्यताको परिणति हो।

दलहरुले आफु अनुकूल चीर हरण गर्दै सँशोधन गरिँदै आएको अन्तरिम सँविधानको पनि शयदिनपछि अन्त्य हुनेछ। अर्थात नयाँ सँविधानकोलागी त्यति नै दिन बाँकि छ। दुइवर्षको अवधि नपुग भएको हाम्रा सभासद् र दलहरुलाई पक्कैपनि यो शय दिन फेरि नपुग हुनेछ। अर्थात देश झन् अनिर्णयको बन्दि हुन बाध्य हुनेछ। जनतामा नैराश्य, अशान्ति, असुरक्षा, अनिश्चितताको बृद्धि हुने छ। जुन अहिले नै पर्याप्त भैसकेको छ। त्यसैले देशलाई रोटीको रुपमा नहेरेर आत्मा साक्षी राखी मन, वचन र कर्मले सद्भाव, सहयोगकासाथ देशलाई अनिर्णयको बन्दिबाट मुक्ति गरुन् भन्ने हामी सामान्य जनताको तिब्र चाहना र माग हो।

अन्त्यमा उपरोक्त शिर्षकको कविताको एक अँशः

भोज छ निरन्तर

दशैँमा झैँ

मार हानिएको छ देशलाई

भतेर छ यत्रतत्र

बिहेमा झैँ

शिकार बनाइएको छ देशलाई

भोकाहरुको कोलाज छ

लुछिएको छ

चोक्टा चोक्टा चिथोरिएको छ

देश ।


Follow

Get every new post delivered to your Inbox.

Join 365 other followers