“के म पलाँस फूलेँ त !”

-पुष्प बरुवाल, आमस्टरडम, द नेदरल्यान्डस ।

आजकाल
स्‍मृतिका छालहरुले मसँग
पौठाजोरी खेल्न खोज्छन
जवानीका तरङ्गहरु
लुकामारी गर्छन्
म आफूलाई असमाहित परीवेशमा
खै किन हो हिजोआज
अर्कै-अर्कै महसुस गर्न थालेको छु ।
 
म झ्यालबाट हेर्छु पल्लो घरको आँगनमा
केही फूलहरु फूलेको देख्छु
फूलसँगै एक व्यक्ति उभिन्छ 
मलाई हेर्छ 
अलिकति नजर बटार्छ
अलिकति अधर लच्काउँछ
बिस्तारै ओठहरु टोकिन्छन
र, ऊ मुसुक्क मुस्काउदै भित्र पस्छ ।
 
हुन त-
म छोरो मान्छे हुँ
र पनि खै किन हो
आजभोली मलाई श्रीङ्गार मनपर्छ
रातो लिपस्टिक मनपर्छ
हरिया चुराहरु मनपर्छन
मलाई ऐना हेर्न मनलाग्छ ।
म ऐना हेर्छु
बैशालु तरङ्गहरुसँगै
अनुहार सुम्सुम्याउँछु
र आफू मान्छे हुनुको हदमा
मान्छेको लैङ्गिक धरातलमा उभिएर
आफ्नो परिभाषा खोज्छु ।

 

म किन यस्तो हुँदैछु ?
म केका लागि यस्तो हुँदैछु ?
म आँफैलाई थाहा छैन
हातका औंलाहरु हेर्छु
पुरुषका छन
छातीको आकार हेर्छु
पुरुषको छ
नाक, कान, घाँटी
सम्पूर्ण अङ्गहरु पुरुषका छन
तर मन …
किन पुरुष हुन सकेकोछैन !
अन्तर-चाहना
किन पुरुष हुन सकेकोछैन !!
म अद्यापि अनविज्ञ छु ।
 
म उमेश पाण्डे
मात्र अठार वर्षको ठिटो
परिवारमा एक्लो छोरो
तर आफूलाई
छोरोको दर्जामा उभ्याउन सकिरहेको छैन 
मलाई आकर्षण छैन
स्त्री वक्षस्थलमा 
छँदै छैन,
पटक्कै छैन
तर कामूकता छ
पुरुष छातीप्रति 
किन?
केका लागि?
मैले अझै बुझ्न सकेको छैन ।
के म पुरुष आकारको नारी हुँ
या म नारी भावनाको पुरुष हुँ ?
म आँफै शंकित छु
यदि म पुरुष हुँ भने
किन पुरुषले मलाई कामुकताले हेर्छन
यदि म नारी हुँ भने
किन मेरो स्वरुप पुरुषको छ ?
म अद्यापि प्रश्न गर्छु लैङ्गिकतासँग ।

 
तर
जवाफहीन स्व-प्रश्नको ओइरोसँगै 
आफ्नो पहिचान खोज्न
पटक-पटक
झ्याल खोल्छु र बाहिर हेर्छु म
मानवरुपि रङ्गिचङगी फूलहरुको भिडमा
आफूलाई कहिले उत्तिस महसुस गर्छु
कहिले सूर्यमूखी
र कहिलेकाहिँ पलाँस पनि
म सोच्छु
यदि म पलाँस नै फूलेको हुँ भने
के कसैले  देउतालाई चढाउने साहस गर्ला ?
म अद्यापि
यो समाजसँग सोधिरहेको छु
र सायद,
बाँचुन्जेल सोधिरहनेछु ……।
 
(वि.सं.  २०६० मा राष्ट्रिय युवा पुरस्कार प्राप्त कविता)

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: